बारा,बरियारपुर माघ ११ आइतबार
बारा जिल्ला क्षेत्र–२ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिवचन्द्र कुशवाहा चुनावी मैदानमा सक्रिय रूपमा उत्रिनु भएको छ।
राजतन्त्र विरुद्धको आन्दोलनमा अग्रपंक्तिमा रहेर लडेका, संविधानसभा सदस्यका रूपमा भूमिका निर्वाह गरिसकेका कुशवाहा गणतन्त्र स्थापनाका अनुभवी राजनीतिक व्यक्तित्वका रूपमा चिनिन्छन्।
चुनाव चिन्ह ‘खुलेको आँखा’ लिएर मैदानमा उत्रिएका कुशवाहा अहिले क्षेत्रभर घरदैलो, टोल–टोल भेटघाट र मतदाता संवादमा व्यस्त देखिन्छन्। भेटघाटका क्रममा उहाँले जनतासँग प्रत्यक्ष रूपमा समस्या सुन्दै दीर्घकालीन समाधानको प्रतिबद्धता व्यक्त गर्दै आउनु भएको छ।
उम्मेदवार कुशवाहाको मुख्य एजेन्डामा सिँचाइ व्यवस्थाको विस्तार, सिँचाइमा विद्युतिकरण, आधुनिक तथा व्यवसायिक कृषि प्रणालीको विकास प्रमुख रूपमा अघि सारिएको छ। कृषि प्रधान क्षेत्र बारा–२ का किसानलाई उत्पादनमा आत्मनिर्भर बनाउने, लागत घटाउने र बजार सम्म सहज पहुँच दिलाउने उहाँको योजना रहेको छ।
अनुभव, संघर्ष र स्पष्ट एजेन्डाका कारण शिवचन्द्र कुशवाहा यस पटकको निर्वाचनमा बलियो उम्मेदवारका रूपमा हेरिन थालिएका छन्। मतदाताहरूले पनि परिवर्तन, विकास र स्थायित्वका लागि अनुभवी नेतृत्व आवश्यक भएको प्रतिक्रिया दिन थालेका छन्।