बारा,प्रसौनी माघ १३ मंगलबार
बारा जिल्लाको प्रसौनी गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी बारा क्षेत्र–४ प्रतिनिधि सभा निर्वाचनको तयारी स्वरूप अगुवा बैठक सम्पन्न भएको छ।
प्रसौनी गाउँपालिका–६ भलुहीमा सम्पन्न बैठकमा नेकपा बारा क्षेत्र–४ का प्रतिनिधि सभा उम्मेदवार अजय कुमार कुशवाहाले आफू प्रसौनी गाउँपालिका वडा नं.–६ निवासी अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा नयाँ पुस्ता (जेन–जेड) को प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा उत्रिएको जानकारी गराएका थिए। उनले युवाको सहभागिता, परिवर्तन मुखी राजनीति र जनताको मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा परवानीपुर गाउँपालिकाका लालबहादुर पटेल, प्रसौनी गाउँपालिकाका विजय यादव र लक्ष्मी महतो, विश्रामपुर गाउँपालिकाका लवकुश बैठा तथा जितपुर–सिमरा उपमहानगरपालिकाका प्रेम बरालले आ–आफ्नो पालिकाको वर्तमान अवस्था, समस्या र आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा सुझाव तथा सल्लाह प्रस्तुत गरेका थिए।
नेकपा केन्द्रीय सदस्य क्षेत्र बहादुर श्रेष्ठको नेतृत्वमा बारा क्षेत्र–४ मा ५०० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।
कार्यक्रममा संविधानसभा सदस्य दिलमाया धामी, दिनेश राई, क्षेत्र बहादुर श्रेष्ठ, शिला खनाल, मालती कुशवाहा, सर्मिला राई, भरत खड्का, रामचन्द्र प्यासी, हरि प्रसाद चौलागाईं, कमला अधिकारी, मुकेश साह लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा आर्थिक समिति, जनपरिचालन समिति, प्रचार–प्रसार समिति लगायतका विभिन्न समितिहरू गठन गरिएको जानकारी दिनेश राईले दिएका थिए।