बारा,जितपुर सिमरा माघ १४ बुधबार
बारा क्षेत्र–१ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा उम्मेदवार संतोष दंगालले आफू युवाको भावना र चाहना अनुसार अघि बढेको स्पष्ट पारेका छन्।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं.–१५ डुमरवानामा आयोजित प्रेस मिटमा बोल्दै दंगालले भने, “अरू दलका उम्मेदवार जस्तो भाषणमा मात्रै सीमित हुँदिनँ, म जे भन्छु त्यो प्रतिज्ञा पूरा गरेर देखाउँछु।”
उनले आफ्नो उम्मेदवारी कुनै व्यक्तिसँगको लडाइँ नभई नीति, विचार र जनताको पक्षमा आधारित संघर्ष भएको बताए।
किसानका समस्या उल्लेख गर्दै दंगालले कृषि उत्पादनको उचित भण्डारण व्यवस्था आफूले प्राथमिकतामा राख्ने मुख्य एजेन्डा भएको जनाए। “किसानले पसिना बगाएर उब्जाएको अन्न सुरक्षित भण्डारण नहुँदा सस्तोमा बेच्न बाध्य हुनु पर्दैन, यसका लागि ठोस नीति आवश्यक छ,” उनले भने।
कार्यक्रम प्रेस सेन्टर नेपाल, बाराका जिल्ला अध्यक्ष रंजन यादवको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा भरत खडका, रामचन्द्र प्यासी, हिमाल खरेल, मुकेश साह, धुर्ब यादव, भरत भण्डारी, मनमाया घले, राज खान, सरोज दहाल, अवधेश पटेल, रामशरण बर्तौला लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
साथै समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अजय साह, शारदा पोखरेल, प्रियंका सरार्फ, अशेष ढुंगाना, विशाल सरार्फ, अरुण कुशवाहा, बिदुर खडकाको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य रमेश साहले राखेका थिए भने सञ्चालन अखिलेस यादवले गरेका थिए।
प्रेस मिट मार्फत उम्मेदवार दंगालले युवा, किसान र श्रमिकको पक्षमा स्पष्ट एजेन्डा सहितको राजनीतिक सन्देश दिएपछि बारा क्षेत्र–१ को चुनावी माहोल थप तातिएको देखिएको छ।