बारा,महागढिमाई १७ फाल्गुन
बारा क्षेत्र–२ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। महागढीमाइ नगरपालिका वडा नं.–३ र १० मा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाउँदै उम्मेदवार रमेश यादवले जनताको समस्या नजिकबाट सुन्ने अभियान अघि बढाएका छन्।
तारा छाप चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका यादवले विशेषगरी सिचाइको अभाव र शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कँदो अवस्थामा पुगेको विषयलाई प्रमुख एजेण्डा बनाएका छन्। स्थानीय किसानहरूले सिचाइ व्यवस्थापनमा देखिएको लापरवाही प्रति असन्तुष्टि जनाउँदै स्थायी समाधानको माग गरेका छन् भने अभिभावकहरूले शिक्षा क्षेत्रमा सुधारको आवश्यकता औंल्याएका छन्।
घरदैलो क्रममा स्थानीयवासीहरूले उम्मेदवार यादवलाई गम्छा र फुलमाला लगाएर भव्य स्वागत गरेका थिए। आम नागरिकसँगको छलफलमा उनले निर्वाचित भएलगत्तै वडा तथा क्षेत्रका समस्या सदन र सम्बन्धित निकायमा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाए।
यादवले भने, “जनताको विश्वास नै मेरो शक्ति हो। सिचाइ, शिक्षा र आधारभूत विकासका मुद्दा समाधान गर्न म प्रतिबद्ध छु।”
बारा क्षेत्र–२ मा तारा छापको लहर बढ्दै गएको दाबी समर्थकहरूले गरेका छन्, जसले चुनावी प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।