बारा,कलैया १० फाल्गुन
नेपाल क्षयरोग निवारण संस्था बारा द्वारा विश्व क्षयरोग दिवस को अवसरमा कलैया प्रादेशिक अस्पतालमा फलफूल वितरण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमले क्षयरोगी बिरामीहरूको मनोबल बढाउने तथा स्वास्थ्य सुधारतर्फ सकारात्मक सन्देश दिने उद्देश्य राखेको थियो।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष धुर्ब प्रसाद रेग्मी ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा डा. ओम प्रकाश कुशवाहा को उपस्थिति रहेको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा नन्दलाल ठाकुर, सुरेन्द्र पासवान तथा निवर्तमान अध्यक्ष सुरेश मोदक रहनु भएको थियो।
कार्यक्रममा अतिथिको रूपमा राजेश कुशवाहा लगायत संस्थाका सचिव किशोर कुमार राम, कोषाध्यक्ष बैधनाथ साह, सदस्यहरू रामकुमार थापा, संतोष नेपाल, विश्वमणी पौडेल, महेश मोदक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले क्षयरोग अझै पनि जनस्वास्थ्यको चुनौतीका रूपमा रहेको उल्लेख गर्दै समयमै पहिचान, नियमित उपचार र जनचेतनाको माध्यमबाट यस रोगलाई नियन्त्रण गर्न सकिने बताए। साथै, यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरूले बिरामीहरूको मनोबल बढाउनुका साथै स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको थियो।
यस किसिमका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै स्वस्थ, सचेत र रोगमुक्त समाज निर्माणतर्फ थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।