बारा माघ ११ आइतबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा क्षेत्र नम्बर–३ का क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारीले रास्वपा परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्दै उनले रास्वपा अब परिवर्तनको एजेन्डाबाट भड्किँदै पैसावाल र सीमित घेराको स्वार्थमा केन्द्रित पार्टी बनेको आरोप लगाए।
पार्टी प्रवेश कार्यक्रममा अधिकारीले रास्वपामाथि गम्भीर राजनीतिक आरोप लगाउँदै भने, “रास्वपा अब गरिब, मजदुर र आम जनताको पार्टी रहेन। पैसा, पहुँच र सोसल मिडियाको हाइपमा सीमित हुँदै जनतालाई भ्रममा पार्ने काम भइरहेको छ।” उनले भर्चुअल राजनीतिबाट देश विकास सम्भव नहुने स्पष्ट गर्दै अब जनताको घरदैलोमा पुगेर वास्तविक समस्या बुझ्ने समय आएको बताए।
उनका अनुसार रास्वपाले परिवर्तनको नारा बेचेर जनताको विश्वास माथि ठगी गरिरहेको छ भने संगठन भित्र लोकतन्त्र कमजोर बन्दै गएको छ। “फेसबुक र टिकटकमा क्रान्ति हुँदैन, क्रान्ति त जनताको दुःख बुझेर सडक, खेत र बस्तीबाट सुरु हुन्छ,” अधिकारीले कडा शब्दमा टिप्पणी गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सत्ता, पैसा र प्रचारमुखी होइन, कर्म र जनसेवामा आधारित राजनीतिक शक्तिको रूपमा अघि बढिरहेको बताए। उनले भने, “देश परिवर्तन भाषणले होइन, इमानदार कर्म र जनताप्रतिको जवाफदेहिताले हुन्छ। त्यसका लागि साहसी र निष्ठावान नेतृत्व आवश्यक छ।”
अध्यक्ष घिसिङले रोशन कुमार अधिकारीको प्रवेशले उज्यालो नेपाल पार्टीलाई संगठनात्मक र राजनीतिक रूपमा थप बलियो बनाउने दाबी गर्दै अवसरवादी राजनीति विरुद्ध पार्टी दृढता पूर्वक उभिने बताए।
रास्वपाबाट आएको यो सार्वजनिक असन्तुष्टि र पार्टी परित्यागले बारा क्षेत्र–३ मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत रास्वपाको आन्तरिक अवस्थाबारे गम्भीर प्रश्न खडा गरेको छ।