बारा,सुवर्ण माघ १५ बिहीबार
बारा क्षेत्र नं.–२ का नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा उमेदवार रमेश यादवले चुनावी सरगर्मीलाई तीव्र बनाएका छन्।
घरदैलो भेटघाट देखि विभिन्न टोल स्तरीय भेला तथा अगुवा छलफल सम्म निरन्तर सक्रिय रहँदै उहाँ मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका र साथै तारामा मतदान गर्न आम मतदातालाइ आग्रह गरेका छन्।
भेटघाटको क्रममा सुवर्ण गाउँपालिका वडा नं.–७ को सन्फुलवा टोल, संतगन्ज–३, जमुनिया–३, पसरामपुर–भिश्वा–८, हर्दिया लगायतका स्थानमा पुगेर उहाँले स्थानीय मतदाता तथा पार्टि नेतृत्व पंक्तिसँग घनिष्ठ छलफल गरेका छन्।
स्थानीय समस्या देखि समग्र राजनीतिक अवस्था बारे मतदाताको धारणा सुन्दै समाधान मुखी राजनीतिमा आफू प्रतिबद्ध रहेको यादवले बताएका छन्।
चुनावी रणनीति स्पष्ट पार्दै उमेदवार यादवले शिक्षा र स्वास्थ्यलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा नै क्षेत्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै, त्यसका लागि सदनभित्र प्रभावकारी आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय स्तरमा बढ्दो जनसमर्थन र सक्रिय सहभागिताले बारा क्षेत्र–२ मा नेकपा उमेदवार रमेश यादवको चुनावी अभियान थप सशक्त बन्दै गएको देखिएको छ।