"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

जितपुर सिमरा–१५ बाट नेकपाको संगठनात्मक आक्रमण, बारा क्षेत्र–३ मा तारा केन्द्रित चुनावी अभियान तीव्र

0

बारा,जितपुर सिमरा माघ १९ सोमबार
बारा क्षेत्र नम्बर–३ अन्तर्गत जितपुर सिमरा उप महानगरपालिका वडा नम्बर–१५ को भारती चौकमा नेपाली कम्युनिस्ट पार्टीको वडा सम्पर्क कार्यालय स्थापना गरिएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनतासँग प्रत्यक्ष सम्पर्क मजबुत बनाउने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो।

वडा–१५ का प्रचारप्रसार प्रमुख हरिकृष्ण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भरत खड्का, हिमाल खरेल, सोनालाल साह, धुर्ब यादव, मुकेश साह, सोनु पटेल, सरोज दहाल, मनमाया घले, भरत भण्डारी तथा रामशरण बर्तौला लगायत नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै पार्टी नेताहरूले नेपाली कम्युनिस्ट पार्टी जनताको अधिकार, सामाजिक न्याय र समानता मूलक समाज निर्माणको एजेन्डा सहित अघि बढिरहेको बताए। उनीहरूले स्थानीय तहबाट संगठन बलियो बनाउँदै जनताको समस्या प्रत्यक्ष रूपमा उठाउने प्रतिबद्धता दोहोर्‍याए।

केन्द्रीय सदस्य सोनालाल साहले सुकुम्बासी, किसान र श्रमिक वर्गका मुद्दा अझै ओझेलमा परेको उल्लेख गर्दै त्यसको स्थायी समाधानका लागि कम्युनिस्ट शक्ति निर्णायक बन्नुपर्ने बताए।
त्यस्तै भरत खड्काले पार्टीले सधैं जनताको पक्षमा स्पष्ट धारणा राख्दै आएको र आगामी निर्वाचनमा पनि जनताको भरोसा नेकपामाथि रहने दाबी गरे।

धुर्ब यादव र मुकेश साहले जितपुर सिमरा क्षेत्रमा देखिएका भूमि समस्या, रोजगारी अभाव, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित चुनौतीहरू समाधान गर्न पार्टीसँग ठोस योजना रहेको बताएका थिए।

सो अवसरमा बारा क्षेत्र–३ का प्रतिनिधिसभा उम्मेदवार भरत प्रसाद साहले निर्वाचित भए लगत्तै सुकुम्बासी समस्या, लालपुर्जा वितरण तथा भूमि अधिकार सुनिश्चित गर्ने कामलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। उनले “जनताको मुद्दा बोकेर सदनमा पुग्ने प्रतिनिधि आवश्यक छ,” भन्दै पार्टीको चुनाव चिन्ह तारामा मतदान गर्न आम मतदातालाई आग्रह गरे।

वडा सम्पर्क कार्यालय स्थापनासँगै बारा क्षेत्र–३ मा नेपाली कम्युनिस्ट पार्टीको चुनावी गतिविधि थप सशक्त बनेको स्थानीय नेताहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.