बारा,कलैया ०७ फाल्गुन
बारा जिल्लाको कलैया स्थित राम जानकी मन्दिर (मठिया) परिसरमा रहेको पवित्र पोखरी वरिपरि जडान गरिएको रेलिङ रहस्यमय ढंगले दिनहुँ हराउँदै गएको भन्दै स्थानीय स्तरमा गम्भीर प्रश्न उठ्न थालेको छ।
समाजसेवी युवा नेता मुकेश साह ले सामाजिक सञ्जाल मार्फत ध्यानाकर्षण गराउँदै भनेका छन्—“हरेक दिन फलामको रेलिङ भाँचिएको देखिन्छ, र अर्को दिन त्यो टुक्रा नै गायब हुन्छ। यसरी नै जारी रह्यो भने केही दिनमै सम्पूर्ण रेलिङ नै हराउने खतरा छ।”
उनले नगर प्रहरी, सुरक्षा निकाय तथा मठिया व्यवस्थापन समितिलाई अंकित गर्दै सुरक्षा व्यवस्था माथि प्रश्न चिन्ह खडा गरेका छन्। “पवित्र स्थलको संरक्षणका लागि बनाइएको संरचना नै सुरक्षित छैन भने सर्व साधारणको सुरक्षाको अवस्था कस्तो होला?” भन्ने प्रश्न समेत उठाइएको छ।
यस घटनाले स्थानीय तहको कार्यशैली माथि पनि राजनीतिक कटाक्ष सुरु भएको छ। विकासका नाममा संरचना निर्माण गर्ने तर संरक्षणमा पूर्ण बेवास्ता गर्ने प्रवृत्तिले कलैयामा “काम देखाउने राजनीति” मात्र भएको आरोप लाग्न थालेको छ। निर्माणमा फोटो खिच्ने होड चल्ने, तर संरक्षणमा जिम्मेवारी लिने कोही नदेखिने अवस्थाले जनतामा असन्तुष्टि बढ्दै गएको छ।
स्थानीयवासीका अनुसार, यदि यस्तै अवस्था रहिरह्यो भने पवित्र स्थलको सौन्दर्य मात्र होइन, सुरक्षामा समेत गम्भीर असर पर्नेछ। अब प्रश्न उठेको छ—यो लापरवाही हो कि संगठित चोरी? र अझ ठूलो प्रश्न—जिम्मेवार निकाय आखिर कहिले जाग्ने?