पर्सा क्षेत्र–२ मा जनमतको हरन छाप बलियो बन्दै — श्याम गुप्ताद्वारा दलित–सीमान्तकृतका लागि एकीकृत बस्ती र खानेपानी समाधानको ठोस एजेन्डा
पर्सा,बिरगंज माघ २२ बिहिवार
पर्सा निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत बहुदरमाई गाउँपालिका वडा नं. २ र ३ तथा वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया क्षेत्रमा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार श्याम गुप्ताले तीव्र घरदैलो अभियान सञ्चालन गरेका छन्।
चुनाव चिन्ह हरन छापमा मतदान गर्न आग्रह गर्दै गुप्ताले घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्।
घरदैलोका क्रममा उम्मेदवार गुप्ताले क्षेत्रभित्र दीर्घकाल देखि थाँती रहेका आधारभूत समस्यालाई चुनावी एजेन्डाको केन्द्रमा राखेका छन्। विशेषगरी खानेपानी अभाव, अव्यवस्थित बस्ती व्यवस्थापन तथा दलित र सीमान्तकृत समुदायको जीवनस्तर उकासने सवालमा उनले एकीकृत बस्ती निर्माणको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
विकासको मूलधारबाट पछाडि पारिएका समुदायलाई आवास, स्वच्छ पानी, शिक्षा र स्वास्थ्य सेवासँग जोड्ने आफ्नो प्राथमिक योजना रहेको उनले बताएका छन्।
गुप्ताको घरदैलोमा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ। मतदातासँगको भेटघाटमा विगतका जनप्रतिनिधिले प्रतिबद्धता पूरा नगरेको गुनासो व्यापक रूपमा उठेको थियो। त्यसप्रति लक्षित गर्दै गुप्ताले “बाचा होइन, कार्यान्वयन मुखी राजनीति” गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
स्थानीय तहमा देखिएका आधारभूत पूर्वाधारका समस्या समाधान गर्ने ठोस योजना प्रस्तुत गरेपछि आम मतदातामा जनमत पार्टीप्रति आकर्षण बढ्दो देखिएको जनाइएको छ। विशेषगरी दलित, श्रमिक र विपन्न समुदायबीच हरन छापप्रति समर्थन विस्तार हुँदै गएको घरदैलो अभियानमा सहभागी कार्यकर्ताहरूको दाबी छ।
चुनावी प्रचारप्रसारलाई अझ सशक्त बनाउँदै गुप्ताले आगामी दिनमा क्षेत्रका सबै वडामा केन्द्रित कार्यक्रम, टोलभेला र मतदाता संवादलाई निरन्तरता दिने जनाएका छन्।
पर्सा क्षेत्र–२ मा जनमत पार्टीले सामाजिक न्याय, आधारभूत सेवा विस्तार र समावेशी विकासलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रतिस्पर्धा थप तीव्र पारेको छ।