बारा, विश्रामपुर माघ २३ शुक्रबार
नेपाली कम्युनिस्ट पार्टी बारा क्षेत्र नं.–४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय कुमार कुशवाहाले विश्रामपुर गाउँपालिकाको वडा नं.–२ बरैनियामा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन्।
चुनाव नजिकिँदै जाँदा कुशवाहाले गाउँ–टोल केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै मतदाता सँग प्रत्यक्ष संवाद बढाइरहेका हुन्।
घरदैलोका क्रममा कुशवाहाले स्थानीय बासिन्दाका दैनिक समस्या, विकास निर्माण, शिक्षा, स्वास्थ्य, सिंचाइ तथा सडक पूर्वाधारका विषयमा गुनासा सुन्दै समाधानको स्पष्ट प्रतिबद्धता व्यक्त गरे उनले विगतका जनप्रतिनिधिले गरेको वाचा पूरा नभएको जन गुनासो उल्लेख गर्दै अब क्षेत्रको समग्र विकासका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको बताए।
उनले भने, “बारा क्षेत्र–४ लाई विकासको नमुना क्षेत्र बनाउने स्पष्ट योजना सहित म मैदानमा छु, त्यसका लागि तारा छापमा मतदान गरी जनताको आवाज सदन सम्म पुर्याउन आग्रह गर्दछु।”
भेटघाटका क्रममा स्थानीय मतदाताले कुशवाहालाई स्वागत गर्दै यस पटक परिवर्तनको पक्षमा मत जाने संकेत गरेका थिए। युवादेखि ज्येष्ठ नागरिक सम्मको उपस्थितिले बरैनियामा चुनावी सरगर्मी बढेको देखिन्थ्यो।
नेकपाका स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले विश्रामपुर क्षेत्रमा पार्टीको संगठनात्मक पकड मजबुत बन्दै गएको सन्देश दिएको छ। चुनावी अभियानलाई अझ व्यापक बनाउने तयारीका साथ कुशवाहा टोली यतिबेला क्षेत्रका अन्य वडातर्फ समेत अग्रसर भइरहेको राजु कुशवहाले जनाइए।