"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

“सिंहदरबार आगो प्रकरणदेखि वर्तमान राजनीतिसम्म: भरत प्रसाद साहको कडा प्रहार, तारामा मतदान गर्न अपिल”

0

बारा,कलैया माघ २४ शनिबार
बारा क्षेत्र नम्बर–३ बाट नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य उमेदवार भरत प्रसाद साहले कलैया उपमहानगरपालिका वडा नम्बर–२४ मा आम मतदाता बीच घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गर्दै चुनावी अभियानलाई तीव्र बनाएका छन्।

घरदैलोका क्रममा साहले आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो पार्टीको चुनाव चिन्ह तारा मा मतदान गर्न आग्रह गरे। उनले मुलुकको वर्तमान राजनीतिक अवस्था, नेतृत्वको नैतिकता र राज्य सञ्चालनको शैली माथि कडा टिप्पणी गर्दै मतदाता लाई “सही निर्णयको घडी” आएको बताए।

आफ्नो मन्तव्य राख्ने क्रममा उनले इतिहासको उदाहरण प्रस्तुत गर्दै भने—
२०३० सालमा सिंह दरबारमा रातिको समयमा अकस्मात आगलागी हुँदा फायर ब्रिगेड, सेना र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको स्मरण गराए। त्यस घटनापछि तत्कालीन प्रधानमन्त्रीले नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएको प्रसंग उल्लेख गर्दै उनले त्यसलाई “राजनीतिक नैतिकताको उदाहरण” का रूपमा प्रस्तुत गरे।
तर वर्तमान सन्दर्भ जोड्दै उनले आरोप लगाए कि २०८२ सालमा सिंहदरबारमा जानाजान आगजनी गराइएको र त्यही घटनालाई देखाएर आगो लगाउने नेतृत्व नै प्रधानमन्त्री बन्ने आकांक्षा सहित चुनावी मैदानमा उत्रिएको दाबी गरे। उनले यस प्रवृत्तिलाई “नैतिक पतन र सत्तालिप्साको चरम रूप” भन्दै कडा आलोचना गरे।

साहले भ्रष्टाचार, सत्ता दुरुपयोग, राज्य संरचना माथि आक्रमण जस्ता विषय उठाउँदै अब मुलुकलाई वैचारिक स्पष्टता र जनपक्षीय नेतृत्व आवश्यक रहेको बताए।
“अबको चुनाव सामान्य चुनाव होइन, यो व्यवस्था सुधार र राष्ट्र बचाउने चुनाव हो,” उनले जोड दिए।
कार्यक्रममा स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

साहले घरदैलो अभियानलाई आगामी दिनमा अझ सशक्त बनाउँदै क्षेत्रका हरेक टोलबस्तीमा पुग्ने प्रतिबद्धता व्यक्त गरे।

Leave A Reply

Your email address will not be published.