"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

बारा–२ मा जसपाको चुनावी शक्ति प्रदर्शन — बरियारपुरमा सम्पर्क कार्यालय उद्घाटन

0

बारा,बरियारपुर माघ २६ सोमबार
गामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लाई केन्द्रित गर्दै बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) ले चुनावी रणनीति तीव्र बनाएको छ। संगठन सुदृढीकरण र मतदाता सम्पर्क विस्तार गर्ने उद्देश्यसहित महागढीमाई नगरपालिका–२ बरियारपुरमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गर्दै जसपाले क्षेत्रीय चुनावी माहोल तताएको हो।

आज आयोजित एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको उक्त सम्पर्क कार्यालयबाट जसपाले घरदैलो, मतदाता भेटघाट, संगठन परिचालन तथा चुनावी प्रचारप्रसारलाई अझ व्यवस्थित र आक्रामक ढंगले अगाडि बढाउने संकेत दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकिशोर प्रसाद यादव ले आफ्नो उम्मेदवारी विकास, पहिचान र अधिकारको एजेण्डासँग प्रत्यक्ष जोडिएको स्पष्ट पारे।
उनले बारा क्षेत्र–२ लाई मधेस आन्दोलनको भावना अनुरूप राजनीतिक, सामाजिक र पूर्वाधार विकासको नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे।

यादवले मधेस र मधेसी जनताको हकहितका सवालमा जसपा नेपालले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै यस पटक जनताले परिवर्तन, पहिचान र अधिकारको पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे। साथै उनले पार्टी पंक्तिलाई आन्तरिक एकता मजबुत पार्दै चुनावी मैदानमा पूर्ण शक्तिका साथ होमिन निर्देशनात्मक आह्वान समेत गरे।

उद्घाटन कार्यक्रममा मधेस प्रदेशसभा सदस्य बच्चा राय यादव, पचरौता नगरपालिकाका पूर्व मेयर रमेश यादव, नेता शिव मंगल यादव लगायत क्षेत्रीय तथा स्थानीय तहका नेता-कार्यकर्ता, समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सम्पर्क कार्यालय स्थापना सँगै बारा क्षेत्र–२ मा जसपाको चुनावी गतिविधि थप सक्रिय हुने र प्रतिस्पर्धी दलहरू माथि राजनीतिक दबाब बढ्ने आकलन गरिएको छ।

Leave A Reply

Your email address will not be published.