"तराई बासी को ढुक ढुकी, रेडियो बारा हामी सबैको साहारा"

बारा क्षेत्र–३ मा जनयुद्ध दिवस: रामनगरमा नेकपाको शक्ति प्रदर्शन, सहिद परिवार सम्मान र घरदैलो तीव्र

0

बारा,जितपुर सिमरा फाल्गुन ०१ शुक्रबार
बारा क्षेत्र नम्बर–३ अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगरमा नेपाली कम्युनिस्ट पार्टीले ३१ औं जनयुद्ध दिवस विविध कार्यक्रमका साथ मनाएको छ।
कार्यक्रमलाई राजनीतिक सन्देश सहित शक्ति प्रदर्शनका रूपमा अघि बढाउँदै पार्टीले सहिद परिवार, जनयुद्धका योद्धा तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएको थियो।

दिवस मनाउने क्रममा जनयुद्धका सहिद परिवार तथा योद्धाहरूलाई सम्मान गर्नुका साथै व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ। सम्मानित हुनेहरूमा श्रीजन बञ्जम, हेम बहादुर कार्की, लाल प्रसाद घिमिरे, लिला बहादुर तामाङ, रामराज चौधरी र विष्णु माया बञ्जन रहेका थिए। उनीहरूलाई खादा लगाएर बारा क्षेत्र–३ का नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत प्रसाद साहले सम्मान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार साहले रामनगर क्षेत्र जनयुद्ध कालीन महत्वपूर्ण सेन्टरका रूपमा रहेको स्मरण गर्दै यही भूमिमा सहिदहरूले बलिदान दिएको उल्लेख गरे। देशको व्यवस्था परिवर्तनमा यस क्षेत्रको ऐतिहासिक योगदान रहेको बताउँदै उनले अब त्यही त्याग र बलिदानको सम्मान हुने गरी विकास र जनजीविकाका समस्या समाधानमा आफू प्रतिबद्ध भएर लाग्ने दाबी गरे।

कार्यक्रममा सोनालाल साह, धुर्ब यादव, दिलमाया धामी, नारायण क्षेत्री, प्रमोद तिमल्सिना, राजकुमार राम, भरत भण्डारी, विक्रम साह, सोनु पटेल, सरोज दहाल, राज खान, अर्जुनराज भारती, सबिना गोले, उषा फुयाल, शान्ति माया तामाङ, शान्ति सुनार, रिबिता मगर, धनमाया परिहार, दिनेश अधिकारीलगायत युवा तथा महिलाको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन मुकेश साहले गरेका थिए।

स्थानीय राजनीतिक परिवेशलाई संकेत गर्दै आयोजकहरूले विगतमा विभिन्न राजनीतिक दललाई लखेट्ने काम समेत भएको यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीप्रति भने सम्मान र समर्थन देखिएको दाबी गरेका छन्।
जनयुद्ध दिवसको अवसर पारेर गरिएको यो कार्यक्रमलाई आगामी निर्वाचन लक्षित राजनीतिक सन्देश र संगठन सुदृढीकरण अभियानको रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.