बारा,पचरौता फाल्गुन ०३ आइतबार
बाराको पचरौता नगरपालिका–४ बेलदारीमा पार्टी परित्याग र प्रवेशको घटनाले स्थानीय राजनीति तताएको छ।
जनता समाजवादी पार्टी नेपाल परित्याग गर्दै सुभाष यादव, कन्हैया कुमार यादव र राजमंगल यादवको नेतृत्वमा दर्जनौँ नेता तथा कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई बारा क्षेत्र नं. २ का नेपाल विद्यार्थी संघ सभापति अमन यादवले खादा र अबिर लगाएर औपचारिक स्वागत गरेका थिए।
स्वागत कार्यक्रमलाई शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ, जहाँ कांग्रेसले मधेसमा आफ्नो संगठन विस्तार तीव्र बनाएको सन्देश दिएको छ।
कार्यक्रममा बोल्दै नेता रामप्रसाद यादवले वर्तमान राजनीतिक परिवेशमा कांग्रेस प्रति जनविश्वास बढ्दै गएको दाबी गरे। उनले लोकतान्त्रिक मूल्य, समावेशिता र विकास प्रतिको प्रतिबद्धताकै कारण कार्यकर्ताहरू कांग्रेस रोज्न बाध्य भएको बताए।
त्यसैगरी नेता रूदल यादवले मुलुकको समग्र विकास र मधेसको अधिकार सुनिश्चित गर्न कांग्रेस नै “निर्विकल्प शक्ति” का रूपमा स्थापित हुँदै गएको जिकिर गरे। उनले पछिल्लो पार्टी प्रवेशले मधेसमा कांग्रेस प्रतिको जनलहर स्पष्ट देखिएको टिप्पणी गरे।
स्थानीय तहदेखि संघीय राजनीति सम्म प्रभाव पार्ने गरी भइरहेको दल परिवर्तनको शृंखलालाई आगामी निर्वाचन लक्षित शक्ति सन्तुलनको अभ्यासका रूपमा विश्लेषण गर्न थालिएको छ। पचरौता क्षेत्रको यो प्रवेशले बारा–२ को राजनीतिक समीकरणमा नयाँ तरंग पैदा गरेको स्थानीय राजनीतिक वृत्तको भनाइ छ।