बारा,कलैया फाल्गुन ०५ मंगलबार
आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले बारा क्षेत्र नं. ३ मा आफ्नो संगठन विस्तार र चुनावी अभियानलाई तीव्र बनाएको छ।
यसै क्रममा कलैया बजारमा क्षेत्रीय पार्टी कार्यालय उद्घाटन तथा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।
कलैया स्थित दास गेस्ट हाउसको भवनमा स्थापना गरिएको क्षेत्रीय पार्टी कार्यालयको उद्घाटन एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोद गुप्ता रहेका थिए। त्यसैगरी मधेस प्रदेश सह–इन्चार्ज संतोष पटेल तथा केन्द्रीय कार्यकारी सदस्य पारस साहको समेत विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले अब पुराना अनुहार र पुरानै शैलीको राजनीति परिवर्तन गर्ने समय आएको बताएका थिए।
केन्द्रीय कार्यकारी सदस्य पारस साहले नेपाली कांग्रेसबाट निरन्तर चुनाव लड्दै आएका प्रतिस्पर्धीप्रति संकेत गर्दै भने— अब लड्ने समय नभई सम्मानपूर्वक बिदाइ गर्ने समय आएको छ। संविधान सभा भइसकेको अवस्थामा अनुभवी नेतृत्वलाई जिताएर विकास र अधिकारको लडाइँ बलियो बनाउनु आवश्यक रहेको उनले जोड दिए।
उद्घाटन पछि कलैया बजार क्षेत्रमा जनमत पार्टीको चुनाव चिन्ह “हरन छाप” लिएर व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो।
घरदैलोका क्रममा उम्मेदवार गुप्ताले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र मधेसको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदातासँग मत मागेका थिए।
कार्यक्रममा पार्टी इन्चार्ज शिवनाथ पटेल, संजय केशरी, दिलिप अग्रवाल, किसमती राम, उमेश दुबे, अरुण साह, लक्ष्मण साह, सुजित पाण्डे, बिनोद साह, अजय साह, जितेन्द्र सहनी, मनोज गुप्ता, दसै ठाकुर, हिरालाल साह लगायत नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन राजदेव ठाकुरले गरेका थिए भने अध्यक्षता द्वारिका यादवले गरेका थिए।
जनमत पार्टीले बारा–३ मा संगठन सुदृढीकरण सँगै घरदैलो, भेटघाट र प्रचारप्रसारलाई तीव्र बनाउँदै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति अघि बढाएको जनाएको छ।