कलैयामा ब्राइटल्याण्डको शैक्षिक प्रदर्शन — अतिरिक्त क्रियाकलाप सहित उत्कृष्टता प्रदर्शन

0

बारा,कलैया फाल्गुन ०५ मंगलबार
बारा जिल्लाको कलैया स्थित ब्राइटल्याण्ड इङलिस बोर्डिङ स्कुलले आफ्नो २४ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीयता र अनुशासनलाई मूल मन्त्र बनाउँदै आएको विद्यालयले वार्षिकोत्सव लाई शैक्षिक उपलब्धि प्रदर्शन गर्ने महत्वपूर्ण अवसरका रूपमा मनाएको हो।

कार्यक्रमका प्रमुख अतिथि अशोक रौनियारले विद्यालयले छोटो समयमा नै शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्दै गुणस्तरीय शिक्षा मार्फत सक्षम जनशक्ति उत्पादनमा विद्यालयको भूमिका प्रशंसनीय रहेको बताए। उनले सामुदायिक तथा संस्थागत विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको र ब्राइटल्याण्डले त्यसमा उदाहरणीय काम गरेको धारणा व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता विद्यालयका निर्देशक रामधारी यादवले गरेका थिए। अध्यक्ष यादवले विद्यालय स्थापना काल देखि नै अनुशासन, व्यवहारिक ज्ञान, अतिरिक्त क्रियाकलाप र नतिजामुखी शिक्षामा जोड दिँदै आएको बताउँदै अन्य विद्यालयको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा श्री ३ चन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेश कुशवाहा, मनकामना इङलिस बोर्डिङ स्कुलका रामबाबु कुशवाहा, गौतम श्री इङलिस बोर्डिङ स्कुलका मनोज सेढाइ, अभिभावक, शिक्षक, पत्रकार लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै मनोज प्रसाद यादव र प्रतिमा यादवको समेत सहभागिता रहेको थियो।

वार्षिकोत्सवका अवसरमा विद्यालयका छात्रछात्राहरूले वक्तृत्वकला, सांस्कृतिक नृत्य, नृत्यनाटक लगायतका सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरी दर्शकको मन जितेका थिए।
अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने विद्यालयको अभ्यास कार्यक्रम भरी झल्किएको थियो।

कार्यक्रममा बेस्ट ड्रेसअप, टप एटेन्डेन्स, उत्कृष्ट शैक्षिक उपलब्धि लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

यसले विद्यार्थीलाई अध्ययनसँगै अनुशासन र नियमिततामा प्रेरित गर्ने विद्यालय प्रशासनको विश्वास रहेको छ।
साथै कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

समग्रमा, ब्राइटल्याण्ड इङलिस बोर्डिङ स्कुलले वार्षिकोत्सवलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई गुणस्तरीय शिक्षा, विद्यार्थी प्रतिभा विकास र शैक्षिक प्रतिस्पर्धात्मकता प्रदर्शन गर्ने प्रभावकारी मञ्चका रूपमा स्थापित गरेको देखिएको छ।
विद्यालयले आगामी दिनमा अझ आधुनिक, प्रविधिमैत्री र परिणाममुखी शिक्षा प्रदान गर्दै क्षेत्रकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा आफूलाई उभ्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.