रास्वपा मधेस प्रदेश संस्थापक सभापति ममता शर्मा काँग्रेस प्रवेश, मधेस राजनीतिमा नयाँ तरंग

0

जनकपुरधाम,फाल्गुन ०६ बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली काँग्रेस प्रवेश गरेकी छिन।
जनकपुरधाममा आयोजित काँग्रेसको बृहत् सभाका बीच उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेकी हुन्। कार्यक्रमका प्रमुख नेताहरूले उनलाई टीका, खादा तथा पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए।

काँग्रेस प्रवेशअघि नै ममता शर्माले रास्वपा परित्याग गर्ने घोषणा सार्वजनिक गरेकी थिइन्। उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी अलग भएको स्पष्ट पार्दै पार्टी भित्रको कार्यशैली प्रति असन्तुष्टि जनाएकी थिइन्।

शर्माले पार्टी विधि, विधान र आन्तरिक लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर निर्णयहरू हुने गरेको आरोप लगाइन्। पार्टी निर्माणमा प्रारम्भदेखि खटिएका इमानदार, क्षमतावान् तथा योगदान दिएका कार्यकर्ताहरूको उचित मूल्याङ्कन नभएको, अवसर वितरणमा पारदर्शिता नदेखिएको तथा संगठनात्मक संरचना कमजोर बन्दै गएको उनको भनाइ थियो।

कार्यक्रममा बोल्दै शर्माले आफूले रास्वपा स्थापना र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै पनि विचार, कार्यशैली र संगठन सञ्चालनप्रति गम्भीर असहमति पैदा भएपछि अलग हुने निर्णय लिनुपरेको बताइन्। उनले भनिन्— “राजनीति पदका लागि होइन, विचार र जनसेवाका लागि हो।
जहाँ कार्यकर्ताको सम्मान र लोकतान्त्रिक अभ्यास हुन्छ, त्यहीँ मेरो राजनीतिक यात्रा सुरक्षित हुन्छ।”
काँग्रेस प्रवेशपछि उनले अब मधेस प्रदेशका जनताको हक–अधिकार, विकास, सुशासन र समावेशी प्रतिनिधित्वका मुद्दालाई केन्द्रमा राखेर सक्रिय राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
मधेसका महिला, युवा तथा सीमान्तकृत समुदायको आवाज सशक्त रूपमा उठाउने उनको भनाइ थियो।
काँग्रेसका प्रदेश तथा जिल्ला तहका नेताहरूले शर्माको आगमनले मधेस प्रदेशमा पार्टी संगठन थप बलियो हुने विश्वास व्यक्त गरे।

विशेषगरी रास्वपाबाट आएका कार्यकर्ता तथा समर्थकहरू समेत काँग्रेसमा समेटिने अपेक्षा गरिएको नेताहरूको भनाइ छ।
राजनीतिक विश्लेषकहरूले शर्माको काँग्रेस प्रवेशलाई मधेस प्रदेशको समसामयिक राजनीतिमा अर्थपूर्ण घटनाका रूपमा लिएका छन्। नयाँ दलबाट स्थापित नेतृ पुरानो लोकतान्त्रिक दलमा प्रवेश गर्नुले प्रदेशस्तरीय शक्ति सन्तुलन, संगठन विस्तार र आगामी निर्वाचन रणनीतिमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

शर्माको निर्णयसँगै मधेस प्रदेशमा दल परिवर्तनको शृङ्खला थप सक्रिय हुने संकेत देखिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

Leave A Reply

Your email address will not be published.