ग्यालेक्सी बिजनेस कलेजमा ‘फुड फेस्टिवल २०८२ — व्यवहारिक शिक्षामा उदाहरणीय पहल

0

बारा,कलैया फाल्गुन ०६ बुधबार

ग्यालेक्सी बिजनेस कलेजको आयोजनामा ‘फुड फेस्टिवल २०८२’ कलेज परिसरमै उत्साह, उमंग र शैक्षिक रौनकताका साथ भव्य रूपमा सम्पन्न भएको छ।
फुड फेस्टिवल कार्यक्रमको उद्घाटन कलेजकी संस्थापक प्रिन्सिपल श्रीमती नम्रता रिसालले रिबन काटेर गर्नुभएको थियो।

उद्घाटन मन्तव्यका क्रममा उहाँले यस्ता व्यवहारिक कार्यक्रमहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, व्यवस्थापन सीप, उद्यमशील सोच तथा आत्मनिर्भरता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

विद्यार्थीहरूको सक्रिय तथा सिर्जनात्मक सहभागितामा सम्पन्न उक्त फेस्टिवलमा परम्परागत नेपाली परिकारदेखि लोकप्रिय अन्तर्राष्ट्रिय खानासम्मका विविध स्वादहरू प्रस्तुत गरिएका थिए।

प्रत्येक स्टल आकर्षक ढंगले सजाइएको थियो भने विद्यार्थीहरूले आफ्नै योजना, लगानी, बजार व्यवस्थापन र बिक्री रणनीतिमा परिकार तयार गरी वितरण गरेका थिए। यसले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा रूपान्तरण गर्ने उत्कृष्ट अवसर प्रदान गरेको देखिन्थ्यो।

कार्यक्रम केवल खानाको स्वादमा सीमित नरही शिक्षण–सिकाइको व्यवहारिक अभ्यास, टोली भावना, वित्तीय व्यवस्थापन, ग्राहक सेवा र उद्यम सञ्चालनको प्रत्यक्ष प्रयोगशालाका रूपमा स्थापित भयो। सहभागी विद्यार्थीहरूले वास्तविक व्यवसाय सञ्चालनको अनुभव हासिल गरेका थिए, जुन अन्य क्याम्पसहरूको तुलनामा ग्यालेक्सी बिजनेस कलेजको शैक्षिक गुणस्तर र प्रयोगमुखी शिक्षण पद्धतिको सबल प्रमाणका रूपमा लिइएको छ।

फेस्टिवलभरि हाँसो–खुसी, सांगीतिक वातावरण र मित्रतापूर्ण घुलमिलले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो। विद्यार्थी, शिक्षक, अभिभावक तथा आगन्तुकहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप सफल, प्रभावकारी र स्मरणीय बनायो।

कार्यक्रम सफल पार्न अहोरात्र खटिने सम्पूर्ण विद्यार्थी, प्राध्यापक, व्यवस्थापन टोली तथा आयोजकहरू प्रति कलेज प्रशासनले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

‘फुड फेस्टिवल २०८२’ ले ग्यालेक्सी बिजनेस कलेजलाई व्यवहारिक, सीपमूलक र उद्यमशील शिक्षामा अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित गर्दै एकता, सहकार्य र सिर्जनशीलताको अविस्मरणीय सन्देश प्रवाह गरेको छ।

Leave A Reply

Your email address will not be published.