बारा,सिम्रोनगढ,फाल्गुन ०८ शुक्रबार
डा. कमरुल्लाह अंसारी ‘हरन छाप’मा मत माग्दै किसान र विकासको एजेन्डा अघि सार्दै
बारा क्षेत्र–१ मा जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. कमरुल्लाह अंसारी यति बेला घरदैलो अभियानलाई तिव्र बनाउँदै “हरन छाप”मा मत मागिरहेका छन्।
सिम्रोनगढ नगरपालिका–१ नन्सागरा र वडा:-३ अन्तर्गत किशुनपुर टोल पुगेर उनले स्थानीय किसान, बुद्धिजीवी र सर्व साधारणसँग प्रत्यक्ष संवाद गरेका छन्।
घरदैलोका क्रममा डा. अंसारीले किसानका उत्पादनको उचित बजारीकरण, प्रभावकारी सिँचाइ व्यवस्था र कृषि आधुनिकीकरणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको स्पष्ट पारे। उनले भने, “किसान समृद्ध नभएसम्म देश समृद्ध हुन सक्दैन, त्यसैले बजार सुनिश्चितता र सिँचाइ विस्तारका लागि सदनमा सशक्त आवाज उठाउनेछु।”
त्यसैगरी, क्षेत्रका ऐतिहासिक तथा धार्मिक स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विश्वसामु चिनाउने योजना समेत अघि सारेका छन्। धार्मिक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउने उनको प्रतिबद्धता रहेको छ।
स्थानीयवासीले विकासमुखी एजेन्डा लिएर आएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। जनमत पार्टीले बारा–१ मा संगठन विस्तारसँगै चुनावी माहोल तताइरहेको छ भने डा. अंसारीको सक्रिय घरदैलो अभियानले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
अब हेर्न बाँकी छ—किसान, युवा र धार्मिक पर्यटनको मुद्दा लिएर अघि बढेका डा. अंसारीलाई बारा–१ का मतदाताले कति साथ दिनेछन्।