बारा,फाल्गुन ०८ शुक्रबार
नेपाली कम्युनिस्ट पार्टी बारा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश यादव यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै क्षेत्रका विभिन्न गाउँ–टोलमा सक्रिय रुपमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरिरहेका छन्।
शिस्वा, करैया, उमजङ, बारा, सिहोडवा तथा कोल्हवी–८ आशाम टोल र बेलवा बजार क्षेत्रमा पुगेका यादवले स्थानीय समस्यालाई प्राथमिकताका साथ उठान गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले निर्वाचित हुने बित्तिकै क्षेत्रका किसान, मजदुर, युवा तथा व्यापारीका समस्यालाई सदनमा सशक्त ढंगले राख्ने र समाधान तर्फ पहल गर्ने दाबी गरेका छन्।
यादवले मतदातासँग प्रत्यक्ष संवाद गर्दै सडक, सिंचाइ, शिक्षा, स्वास्थ्य र रोजगारका विषयलाई प्रमुख एजेण्डाका रूपमा अघि सारेका छन्। “जनताको मतले जितेपछि जनताको आवाज सदनमा गुञ्जिनेछ,” उनले बताए।
अभियानका क्रममा उनले चुनाव चिन्ह तारा छापमा मतदान गर्न अपिल गर्दै बारा–२ मा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उल्लेख गरे।
स्थानीय स्तरमा बढ्दो जन समर्थनले आफ्नो जित सुनिश्चित हुने दाबी गर्दै उनले अन्तिम सम्म जनताकै घरदैलोमा पुग्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
बारा–२ मा उम्मेदवारहरूको सक्रियतासँगै चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।