बारा,जितपुर सिमरा,माघ २५ आइतबार
डुमरवाना गाविसका पूर्व अध्यक्ष, नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य, २०६७ साल बारा जिल्ला सुकुम्बासी अध्यक्ष तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना का पूर्व प्रबन्धक, जितपुर सिमरा उपमहानगरपालिका–१५ निवासी नारायण क्षेत्री औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
उनीलाई नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जितपुर सिमरा:-१५ मा टीका, खादा लगाई पार्टीमा स्वागत गरेका हुन्।
लामो समय एमालेमा सक्रिय भूमिका निर्वाह गरेका क्षेत्रीको प्रवेशलाई बारा क्षेत्र–३ मा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।
पार्टी प्रवेश पछि मन्तव्य राख्दै क्षेत्रीले एमालेप्रति कडा आक्रोश व्यक्त गरे। उनले भने—
“एमाले अब कम्युनिस्ट आदर्शबाट विचलित भइसकेको छ, यो पार्टी भ्रष्टाचारको संरक्षक र पूँजीवादी शक्तिको रक्षक बनेको छ।”
उनले विशेष गरी केपी ओली नेतृत्वको अघिल्लो सरकार प्रति लक्षित गर्दै जनआन्दोलन तथा जनअधिकारका मूल मुद्दाहरूलाई कमजोर पारिएको, जनअपेक्षा विपरीत सत्ता केन्द्रित राजनीति गरिएको आरोप लगाए। “जेन्जी आन्दोलनको मूल जडमाथि प्रहार गर्ने काम ओली सरकारले गर्यो,” उनले उल्लेख गरे।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी बारा क्षेत्र–३ का संयोजक भरत बहादुर खडका, नेता सोनालाल साह, हिमाल खरेल, धुर्ब यादव, प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत प्रसाद साह लगायतका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसैबीच, आज रौतहटको गौरबाट काठमाडौँ जाने क्रममा आयोजित भेटघाट कार्यक्रममा सह–संयोजक माधवकुमार नेपालले क्षेत्र–३ का उपलब्ध नेता–कार्यकर्तालाई सम्मान गर्ने सिलसिलामा नवप्रवेशी क्षेत्रीलाई विशेष धन्यवाद दिएका थिए।
केन्द्रीय सदस्य हिमाल खरेलले आफ्नो मन्तव्यमा भने—
“जनताको पक्षमा निरन्तर लड्दै आएका अनुभवी व्यक्तित्व नारायण क्षेत्रीको आगमनले क्षेत्र–३ मा पार्टीको संगठनात्मक बल अझ सुदृढ भएको छ। उहाँको प्रवेश केवल व्यक्ति प्रवेश होइन, वैचारिक ध्रुवीकरणको संकेत हो।”
पछिल्लो समय बारा क्षेत्र–३ मा विभिन्न दल परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने क्रम तीव्र बन्दै गएको छ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, घरदैलो र वैचारिक ध्रुवीकरणका गतिविधि तीव्र पारिएको पार्टीले जनाएको छ।
राजनीतिक वृत्तमा क्षेत्रीको प्रवेशले एमालेभित्र असन्तुष्टि बढेको तथा वाम राजनीतिक ध्रुवीकरणले नयाँ मोड लिन सक्ने आकलन गरिएको छ।