बारा,कलैया माघ २७ मंगलबार
आगामी चुनाव नजिकिँदै गर्दा युवा नेत्री पिकिं यादव ले देशको वर्तमान राजनीतिक अवस्था, नेतृत्व चरित्र र जनताको मनोविज्ञान बारे कडा धारणा सार्वजनिक गरेकी छिन्।
उनले विगत र वर्तमान दुवै नेतृत्व प्रति असन्तुष्टि जनाउँदै भनिन् — “न त पहिलेका नेता क्रियेटिभ र इमान्दार भए, न त अहिलेका छन्। पार्टी र नेताको संख्या यति धेरै भयो कि गनेर नसकिने, तर देशका लागि काम गर्ने भन्दा एकअर्कालाई तल झार्ने खेलमै व्यस्त छन्।”
यादवले देशमा गरिब, असहाय र पीडित नागरिकको वास्तविक दुःख बुझ्ने नेतृत्वको अभाव रहेको उल्लेख गरिन्। उनका अनुसार साँचो अर्थमा राष्ट्रसेवामा समर्पित नेता पाउनु आजको युगमा “भगवान सरह” भएको छ — जो निस्वार्थ रूपमा पद र कुर्सीमा बसेर जनताको भलो गर्ने सोच राखोस्।
उनले जनतालाई समेत आत्मआलोचना गर्न आग्रह गरिन्।
“हामी जनता पनि कम लोभी छैनौँ। व्यक्तिगत स्वार्थ पूरा गर्न जे पनि गर्न तयार हुन्छौँ। यदि सामाजिक कामलाई प्राथमिकता दिने हो भने सबैको भलो हुन्थ्यो,” उनले भनिन्।
विदेश भ्रमणप्रति लक्षित गर्दै उनले नेताहरूलाई प्रश्न गरिन् —
“नेता विकसित देश घुम्न मात्रै जाने हो र? त्यहाँको विकास कसरी भयो, त्यो सिकेर नेपालमा लागू गर्ने जिम्मेवारी किन पूरा हुँदैन?”
उनले विकसित राष्ट्रको उदाहरण दिँदै भनिन् कि त्यहाँ पनि नेता र जनता नै छन्, तर नीतिमा इमान्दारिता, कार्यान्वयनमा दृढता र विकास प्रतिको साझा प्रतिबद्धताले नै ती देशहरू अगाडि बढेका हुन्।
नेपालमा भने विकासको बहसभन्दा चुनावी अंकगणितमै समय बित्ने गरेको उनको आरोप छ।
यादवले चुनाव केन्द्रित राजनीति प्रति जनआक्रोश बढ्दो रहेको बताइन् —
“अब त चुनाव भन्ने शब्द सुन्ना साथ रिस उठ्छ। चुनावले फरक पार्टी र व्यक्ति जिताए पनि नियत उहीँ रहने हो भने परिवर्तन कसरी सम्भव हुन्छ?”
उनले अन्त्यमा स्वार्थ रहित राजनीति, उत्तरदायी नेतृत्व र सचेत नागरिक संस्कार निर्माण नगरे सम्म देशले अपेक्षित विकास नपाउने चेतावनी दिइन।